
काठमाडौं— बंगलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार थप चार जनाको डेंगुका कारण मृत्यु भएको पुष्टि गरेका छन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर यो वर्ष हालसम्म डेंगुका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ । संक्रमितको संख्या ५१ हजार ८३२ पुगेको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत असारमा पाँच हजार ९५६ जनामा संक्रमण भएको देखिएको थियो । जुलाईमा संक्रमित संख्यामा थप ४३ हजार ८५४ जनामा देखिएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा ढाकामा एक हजार १६८ सहित दुई हजार ६९४ जना नयाँ डेंगुका बिरामी फेला परेका छन् ।
यस वर्षको जनवरीदेखि जुलाईसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर ४२ हजार १९५ जना डेंगुका बिरामी घर फर्केका छन् ।
डेंगुको बढ्दो संख्यासँग जुध्न बंगलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।













