News Griha :: न्यूजगृह
‘काठमाडौंमा ढलले बालबालिका बगाउँछ, फेरि पानी पर्‍यो  भने समस्या जस्ताको तस्तै छ’

काठमाडौं— सांसदहरूले काठमाडौं उपत्यकाका मुख्य सडकहरूमा ढल बग्ने समस्याको व्यवस्थापन हुनु पर्ने बताएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले काठमाडौं उपत्यकाका मुख्य सडकमा ढल व्यवस्थापनको चुनौति रहेको बताएका हुन् । 

उनीहरूले मुख्य सडकमा खोला र ढलहरू जोडिएकले साना बालबालिकाहरू बगाउने समस्या सिर्जना भइरहेको बताए । गत साउन ७ गते काठमाडौंको रानीवनस्थित सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका विधान आले मगर बेपत्ता भएको घटनालाई लिएर सांसदहरूले फेरि यस्ता घटना हुन नदिन सचेत गराए । 

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले भारी वर्षा हुने बित्तिकै काठमाडौंका सडकहरूमा जाम हुने, अस्त व्यस्त हुने र सडकमै खोला बग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन् ।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले काठमाडौंका सडक छेउमा बहने नदीहरूमा तत्काल ढल गाढेर सुरक्षित गर्नु पर्ने बताए । उनले काठमाडौंका यस्ता समस्याहरूको दीर्घ कालीन व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताएका थिए ।

‘एक जना बालक बेपत्ता छन्, त्यहाँ फेरि पनि पानी आयो भने समस्या जस्ताको तस्तै छ, त्यसमा अहिले तत्काल ढल गाढेर तत्काल निकास दिन के गर्नुपर्छ ? र, दीर्घ कालीन रुपमा समस्या समाधानका लागि तपाईहरूको कुरा के छ ?,’ उनले भने, ‘यसका लागि हामी अनुगमनमा जान तयार छौँ, यसको समाधानको कुरा सरकारबाट हामीले चाहेको हो ।’

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले पानी पर्नु भन्दाअघि एकपटक ढलको मंगालहरू सफा गर्नु पर्ने अभियान चलाउन आवश्यक रहेको बताइन् ।

समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले सामाखुशीको बाढीमा परी बेपत्ता भएका बालकको खोजी कार्य तीव्र बनाउनु पर्ने बताए ।

‘सामाखुसीमा केही दिनअघि मात्रै विधान आले मगर बेपत्ता हुनुभयो, त्यसका लागि आज नौ दिन भइसक्दासमेत उहाँको अवस्था जानकारी भइरहेको छैन, यसलाई अझै खोजी कार्य बढाउनु पर्छ, अब यस्ता घटना नदोहोरिउन्,’ उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:३२
Weather Update