News Griha :: न्यूजगृह
सुदूरपश्चिममा एसईई परीक्षाको तयारी पूरा

डोटी— शुक्रबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षको को सुदूरपश्चिम प्रदेशमा तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ ।

दुई सय आठ परीक्षा केन्द्र रहेको सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आवश्यक उत्तरपुस्तिका पुग्नुका साथै सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायलका निर्देशक दुर्गादत्त विष्टले बताए ।

उनले भने,‘माध्यमिक शिक्षा परीक्षाको लागि आवश्यक पर्ने केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सुरक्षा व्यवस्था, उत्तरपुस्तिकालगायत सम्पूर्ण तयारी पूरा भएको छ ।’

सबै गरेर ५५ हजार तीन सय ७६  विद्यार्थी परीक्षामा सहभागी हुने निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार नियमिततर्फ ५० हजार पाँच सय ७४,  ग्रेडवृद्धितर्फ एक हजार आठ सय ५८ र प्राविधिक धारतर्फ दुई हजार नौ सय ४४ विद्यार्थीहरु रहेका छन् ।

प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलाली जिल्लाबाट सहभागी हुने भएका छन् । कैलालीबाट १७ हजार सात सय ४२ छन् भने सबैभन्दा कम डडेल्धुराबाट दुई हजार छ सय ८९ विद्यार्थी छन् ।

डोटीबाट तीन हजार सात सय ७२, बाजुराबाट तीन हजार एक सय ६३, बझाङबाट चार हजार चार सय, अछामबाट पाँच हजार ७३, दार्चुलाबाट दुई हजार नौ सय ७१, बैतडीबाट पाच हजार तीन सय ५१ र कञ्चनपुरबाट १० हजार दुई सय १५ परीक्षार्थीको सहभागिता रहने छ ।

कैलालीमा ५३, डडेल्धुरामा १२, डोटीमा १२, बाजुरामा १५, बझाङमा १८, अछाममा २४, दार्चुलामा १६, बैतडीमा २५, कञ्चनपुरमा ३३ परीक्षा केन्द्र रहनेछ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २१:४२
Weather Update