सिरहाको गोलबजारमा युवकको शव फेला

सिरहा— जिल्लाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको हो ।
गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुन सक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रवीन्द्रराज पाण्डेले भने, ‘अन्यत्र कतै हत्या गरी शव झाडीमा फालिएको हो कि भन्ने शंका छ, प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ ।’
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १४:४८













