News Griha :: न्यूजगृह
विश्व विद्यालयको आन्तरिक सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह [पूर्णपाठसहित]

काठमाडौं—  प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिएका हुन् । 

बालुवाटारमा मंगलबार बिहान सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा उनले राज्यको सीमितता र साधन स्रोतकाबाबजुद विश्वविद्यालयको आन्तरिक सुधार गर्नु पर्नेमा जोड दिएका हुन् ।

surpachim university cenet1690871549.jpg

‘राज्यको साधन स्रोतको सीमितता, विश्व बजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहेनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्नसकिने शैक्षिक जगत्मा प्रशस्त दृष्टान्तहरू छन्,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के/कस्ता कामहरू गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्नसमेत म यहाँहरूको ध्यानाकृष्ट गराउँछु ।’  

supa university cenet meting1690871549.jpg

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ 

सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्चशिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको छ। उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्व बजारमा प्रतिस्पर्धी बनाउनेतर्फ सुदूरपश्चिम विश्वविद्यालयले अँगालेका कदमहरू समयसापेक्ष छन्। सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरूलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य (M.Phil.) तथा विद्यावारिधि (Ph.D.) कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिने जस्ता कार्यहरू महत्वपूर्ण एवम् प्रशंसनीय छन्।

सुदूरपश्चिम विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने देखिन्छ। अनुसन्धान कार्यहरूलाई आर्थिक तथा सामाजिक विकाससँग जोडी विज्ञान तथा प्रविधिका विषयहरूलाई उच्च प्राथमिकतामा राखेर दक्ष जनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरीबी न्यूनीकरण गर्नेतर्फ पनि विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ। 

सुदूरपश्चिम विश्वविद्यालय विकासको प्रारम्भिक अवस्थामै रहेकाले जनशक्ति, भौतिक संरचनाको अभावसँगै स्रोत साधन सम्बन्धी प्रशस्त समस्याहरू छन्। सुदूरपश्चिम विश्वविद्यालयका यी र अन्य समस्या पहिचान गरी समाधान गर्न गम्भीर प्रयत्न गर्नुपर्ने आवश्यकता अनुभूति गरेको छु। यस्ता समस्या समाधान गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक हुने भएकाले सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारी तथा समुदायसँग छलफल गरी सुदूरपश्चिम विश्वविद्यालयको उन्नति, विकास र सहयोगका लागि नेपाल सरकार सदैव गम्भीर रहने नै छ।

सुदूरपश्चिम प्रदेशभित्रका १५ वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा विश्व विद्यालयमा समायोजन गर्ने कार्यलाई पूर्णता दिन गर्नुपर्ने आवश्यक प्रक्रिया पुरा गरी थप ११ वटा क्याम्पसलाई पनि समायोजन गर्नका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाइनेछ।  

हाम्रो देश सांस्कृतिक, भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त र समृद्ध भएर पनि उपलब्ध स्रोत र साधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा हामीहरू विकासको गतिमा अपेक्षित रूपमा अगाडि बढ्न सकिरहेका छैनौँ। विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्राएर देश विकासमा लगाउन पर्नेमा हामीसँग भएको दक्ष र अर्धदक्ष जनशक्ति पनि रोजगारीको खोजीमा बिदेसिनुपर्ने अवस्था रहेको कटु यथार्थ हाम्रोसामु रहेको छ। अब हाम्रो शिक्षा नीति र विश्वविद्यालयहरूले रोजगारीका लागि बिदेसिनुपर्ने यस अवस्थाको अन्त्य गर्ने योजनाहरू अगाडि बढाउनु पर्दछ। यसरी युवाहरू बिदेसिने मुख्य कारण शिक्षाको गुणस्तर र गरिबी नै हुन्। शिक्षाको गुणस्तर माथि उकास्न सके र देशभित्र रोजगारी सिर्जना गर्न सके युवाहरू बिदेसिने क्रमलाई रोक्न सकिनेछ। विश्वविद्यालयमा पढ्दै र कमाउँदै कार्यक्रम लागू गरिए बिचमै विश्वविद्यालयको पढाइ छोडेर विद्यार्थी बिदेसिने समस्या एक हदसम्म समाधान हुने सम्भावना देखेको छु।  

कुन क्षेत्रमा कुन किसिमको कति जनशक्ति आवश्यक पर्दछ भन्ने कुरा अध्ययन गरी त्यसैअनुसार सम्बन्धित विषयमा कोटा निर्धारण गरी विश्वविद्यालयले विद्यार्थी भर्ना लिने र उत्पादित जनशक्तिले प्राप्त गरेको ज्ञान र सीप अनुसार देशभित्र काम पाउने वातावरण निर्माण गर्न सकिए शैक्षिक बेरोजगारीको समस्या व्यवस्थापन गर्न सकिने हुनाले विश्वविद्यालयले देशलाई कुन किसिमको जनशक्तिको आवश्यकता छ त्यसैअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नतिर ध्यान दिनुपर्ने देखिन्छ। 

शिक्षा क्षेत्रलाई उच्च प्राथमिकताका साथ आधुनिक र मर्यादित तुल्याएर मात्र २१ औँ शताब्दीको आजको विश्वमा प्रतिस्पर्धा गर्न योग्य एवं समाज र राष्ट्रका निम्ति कर्मठ र लगनशील नागरिक उत्पादन गर्न सकिन्छ। राज्यको साधन स्रोतको सीमितता, विश्व बजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहेनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्नसकिने शैक्षिक जगत्मा प्रशस्त दृष्टान्तहरू छन्। तसर्थ, विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के/कस्ता कामहरू गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्नसमेत म यहाँहरूको ध्यानाकृष्ट गराउँछु।

उच्च शिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धानमा आधारित बनाउनुपर्छ। अनुसन्धान देशको सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्छ। अनुसन्धानले देशमा विद्यमान सम्पूर्ण समस्याको समाधान खोज्नुका साथै देशलाई अग्रगतिको मार्गमा लैजाने द्वारहरू उघार्न सक्नु पर्दछ। सुदूरपश्चिम विश्वविद्यालयले आफूलाई त्यस दिशामा हिँडाउन सक्नु पर्दछ।  

अन्त्यमा विश्वविद्यालयको सर्वाङ्गीण विकास र सुखद् भविष्यका लागि शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:१०
Weather Update