
काठमाडौं— ठूलो दल नेकपा एमालेलाई प्रतिपक्षमा राख्न कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट सभामुखमा निर्वाचित भएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा उनले पदबाट राजीनामा दिने भएका हुन् ।
कोशीमा नयाँ सरकार गठन गर्न कूल ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ । तर, सत्ता गठबन्धनसँग ४६ सांसद रहेका छन् । माओवादी केन्द्रबाट सभामुख बनेका गौतमले राजीनामा दिए बहुमत पुग्ने छ ।
सत्ता गठबन्धन दलहरूले बहुमत पुर्याउन नसकेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । उनको पक्षमा एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद रहेका छन् ।
एमालेका तत्कालीन मुख्यमन्त्री कार्की पदबाट हटेसँगै गठबन्धनबाट यसअघि कांग्रेस संसदीय दल नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । थापा सभामुखसहितको हस्ताक्षर गरेर मुख्यमन्त्री नियुक्ति भएका हुन् । तर, सर्वोच्च अदालतले गत बिहीबार उनको नियुक्ति खारेज गरिदिएसँगै कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार अपराह्न ५ बजेसम्म समय दिएका छन् । यसअघि नै सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि सभामुख गौतमले राजीनामा दिने तयारी गरेका हुन् ।
कोशीमा गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी कूल ४६ सांसद रहेका छन् ।













