News Griha :: न्यूजगृह
‘हामीले सुन तस्करीको छानबिन गर्न माग गरेका हौँ, बैठक अवरुद्ध गरेका होइनौँ’

काठमाडौं— नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्ना माग पूरा नभएसम्म प्रतिनिधि सभा बैठक बस्न नसक्ने बताएका छन् । उनले सय किलो सुन बरामद प्रकरणको अनुसन्धान गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्न माग आफूहरूले राखेको बताए ।

सचेतक बर्तौलाले सुन तस्कर जस्तो अवैधानिक काममा लागेको बताउँदै सरकारले आफ्नो अधिकार दूरुपयोग गरेको बताए । ‘हाम्रो माग भनेको सरकार तस्करमा लाग्यो, यसरी आफ्नो अधिकार दूरुपयोग गर्न पाइँदैन भन्ने हो,’ उनले भने, ‘हामीले सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेका हौँ, बैठक अवरुद्ध गरेका होइनौँ ।’

उनले एक क्विन्टल सुन तस्करी गर्न सरकारकै उच्च स्तरबाट संरक्षण भएको दाबी गर्दै विरोध गरेको बताए । सभामुख देवराज घिमिरेले सोमबार बोलाएको प्रतिनिति सभा बैठक बस्न नसकेपछि आज दिउँसो १ बजे बस्ने गरी बोलाएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १०:२६
Weather Update