News Griha :: न्यूजगृह
कोशीको मुख्यमन्त्रीमा आज साँझ ५ बजेसम्म दाबी गर्ने समय, ठूला दललाई बहुमत पुर्‍याउन सकस

काठमाडौं— सर्वोच्च अदालतको आदेश अनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समय आज मंगलबार सकिँदै छ ।

प्रदेश प्रमुख खापुङले साँझ ५ बजेसम्म संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् । तर, अहिलेसम्म नयाँ मुख्यमन्त्रीको टुंगो लागि सकेको छैन ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई साथमा लिगेर मुख्यमन्त्रीसहित कोशी प्रदेशमा सरकार गठनको प्रयास जारी राखेको छ ।

एमालेले पनि राप्रपालाई नै विश्वासमा लिगेर संविधानको धारा १६८को ३ अनुसार प्रदेश सभाको ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने तयारी गरेको छ ।

राप्रपाको समर्थन पाउने विश्वासिलो आधार नपाएपछि सत्ता गठबन्धनमा रहेका दलहरूले सभामुख बाबुराम गौतमलाई राजीनामा गरेर भएपनि मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् ।

गौतमले सभामुखबाट राजीनामा गरेपछि आफैं मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन ।

दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौंमा पनि छलफललाई तीव्र बनाएका छन् ।

कोशी प्रदेश सभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन् ।

सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् ।

सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गर्दै साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रियाअघि बढाउन परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:३१
Weather Update