
काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १०० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारसँग माग गरेपछि सोमबार बोलाइएको बैठक सूचना टाँस गरेर आजलाई सारिएको थियो ।
उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच समझदारी नबनेसम्म संसद् बैठक सञ्चालन हुने सम्भावना न्यून देखिन्छ ।
संघीय संसद् सचिवालयले जारी गरेको आजको सम्भावित कार्यसूची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाइने छ ।
साथै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।













