News Griha :: न्यूजगृह
पशुपतिनाथ मन्दिरमा हजारौं बोलबम यात्री

काठमाडौं— सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् ।

यो वर्ष साउनको तेस्रो साता सोमबार बोलबम काँवरिया संघको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म बोलबम यात्रा भएको हो । बोलबम यात्राका लागि आइतबार बेलुकी नै भक्तजन सुन्दरीजल पुगेका थिए ।

प्रत्येक वर्ष साउन महिनामा बोलबम यात्रीले बाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाएका हुन् ।

बोलबम यात्रीलाई जल चढाउन छुट्टै ढोकाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

सौरमास अनुसार साउनको तेस्रो साता सोमबार पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनले दर्शन गरेको पनि उनले बताए ।

पशुपतिनाथमा सोमबार सात हजार पाँच सयभन्दा बढीको रसिद काटी एक सय २१ जना भक्तजनले विशेष पूजा गरेका छन् । एक जना भक्तजनले भने ६५ हजारको रसिद काटेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १९:३८
Weather Update