
काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पार्टीमा नेत्र विक्रम चन्दलाई स्वीकार्न गाह्रो नभएको बताएका छन् ।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले चन्दलाई पार्टीमा फर्किन आफैंले भनेको भन्दै यसमा कुनै नौलो कुरा नभएको बताए ।
उनले चन्दलाई पार्टीमा ल्याउने कुरा सञ्चारमाध्यमले हाइलाइटको विषय बनाएको बताए । सांसद शर्माले जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट बैठक सञ्चालन गर्न पार्टी केन्द्रीय कमिटीको बैठक लाइभ गर्न लागेको बताए ।
उनले भने,‘जनताले बुझ्नेगरी लोकतान्त्रिक प्रक्रियाबाट गर्नुपर्छ नि त ! सबै पार्टीले क्रमशः गर्दै जाने कुरा छ । त्यसैले काम गर्ने सदस्यले के काम गरेको छ,तलसम्म थाहा हुन्छ । आज पनि सिंगो पार्टी एक ठाउँमा छ । विप्लवलाई आउनु भनेकै छौँ, मिडियाले हाइलाइट गर्नुभएको कुरा मात्रै हो । बैठक १७ गतेदेखि सुरु हुन्छ । बैठकमा सबै केन्द्रीय सदस्यले बोल्नुहुन्छ ।’













