
मुम्बई— भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।
पश्चिम रेलवेका अनुसार सीटी चेतन नाम गरेका सिपाहीले जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस ट्रेनमा महाराष्ट्रको पालघर स्टेशन पार गरेपछि आरपीएफका असईसहित चार यात्रुहरूमाथि गोली चलाएका थिए ।
पश्चिम रेलवेबाट प्राप्त जानकारीअनुसार आरोपी हवल्दारलाई हतियारसहित पक्राउ गरिएको छ । जयपुर–मुम्बई सेन्ट्रल एक्सप्रेस (ट्रेन नम्बर १२९५६) को बी फाइभ डिब्बामा उक्त घटना भएको आरपीएफका अधिकारीहरूले बताएका छन् ।
आरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रेन नम्बर १२९५६ मा सोमबार बिहान ५ः२३ मा बी ५ कोचमा गोली चलेको छ ।’ अनुरक्षण (एस्कर्ट) सेवामा खटिएका सीटी चेतनले इन्चार्ज असई टीकाराममाथि गोली चलाएको पुष्टि भएको छ ।
रेल बीभीआईमा आइपुग्नु पहिले प्राप्त अग्रिम जानकारी अनुसार असईको अतिरिक्त अन्य तीन सर्वसाधारणको हताहती भएको पनि रिपोर्ट गरिएको छ । एएनआई













