News Griha :: न्यूजगृह
पाकिस्तानमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुग्यो
तस्बिर : एएफपी

इस्लामावाद— पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

स्वास्थ्यमन्त्री रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको संख्यामा वृद्धि भएको हो ।

बम विष्फोटमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएको र तीमध्ये १०० भन्दा बढीको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गर्दै अनवरले सबै गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत प्रान्तीय राजधानी पेशावर लगिएको जानकारी दिए ।

जिल्लाको मुण्डा खार सडकको शान्ते मोर क्षेत्र नजिकै जमीयत उलेमा–ए–इस्लाम–फजल (जेयूआई–एफ) को राजनीतिक भेलाका क्रममा आक्रमणकारीले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:१५
Weather Update