
महोत्तरी— समयमा वर्षा नहुँदा अहिलेसम्म जिल्लामा ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षा नहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो ।
साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन । यहाँका किसानले स्यालो ट्युबबेल, डिप ट्युबबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन् । उनले जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म मात्र नौ हजार नौ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको जानकारी दिए ।
पानी नै नपरेका कारण किसानले महँगो मूल्यमा सिँचाइ गरेर रोपेका धानका बिरुवा पनि अहिले सुक्न थालेको जलेश्वर नगरपालिका –८ का किसान विपेन्द्र पाण्डेले गुनासो गरे । उनले आफ्नो खेतमा लगाएको धानका बिरुवा सुक्न थालेको र खेलभर धाँजो समेत फाटेको बताए ।

अर्का किसान रामु मण्डलले धानका बिरुवा ब्याडमै सुकिरहेको बताए । जलेश्वरकै छिमेकी गाउँपालिका एकडारा– ४ का किसान उपेन्द्र यादवले गाउँभरी नै यसपालि रोपाइँ हुन नसकेको र रोपेको धान पनि सुकिरहेको बताए। रामगोपालपुर नगरपालिका– ५ का किसान प्रमोद मण्डलले पानी नपर्दा यसपालि रोपाइँ गर्न नपाएको गुनासो गरे ।
जिल्लामा सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रले यसपालि जिल्लामा धान उत्पादनमा ह्रास आउने अनुमानसमेत गरेको छ ।













