
काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले शिक्षक तथा कर्मचारीका समस्याका विषयमा आफू चिन्तित रहेको बताउँदै चाँडै समस्या समाधान गर्ने बताएका छन् ।
नेपाल शिक्षक महासंघका पदाधिकारीसँगको भेटवार्तामा उनले शिक्षकका पेशागत हकहितका सवालमा आफू गम्भीर रहेको बताएका हुन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार भएको सो भेटमा महासंघले आफ्ना माग र विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्नेतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गरायाे ।
महासंघले सहमतिअनुसार संघीय शिक्षा ऐन छिटो ल्याइनुपर्ने, बालविकासका शिक्षक र विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गरी सेवा सुविधा बढाउनुपर्नेबारे ध्यानाकर्षण गरायाे । त्यसैगरी सबै किसिमका शिक्षकका समस्याबारे पनि महासंघले ध्यानाकर्षण गरायाे ।
सो अवसरमा अर्थमन्त्री डा.महतले ती विषयमा मन्त्रालयका तर्फबाट सक्दो सकारात्मक पहल गर्ने आश्वासन दिएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । अर्थ मन्त्रीलाई भेट्न महासंघका घटक संस्थाका अध्यक्ष र पदाधिकारीहरू पनि पुगेका थिए ।














