
काठमाडौं— दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको सङ्ख्या १० पुगेको स्थानीय गभर्नरले जानकारी दिएका छन् ।
अनुमति बिना गोदाम सञ्चालन गरेको आरोपमा गोदामका मालिकलाई प्रहरीले खोजी गरिरहेको छ । शनिबार दिउँसो सुङ्गाई कोलोक सहरस्थित एक भवनको गोदाम नजिक वेल्डिङ गर्दा झिल्का लागेर विष्फोट हुँदा एक सयभन्दा बढी घाइते भएका तथा सयौँ घरमा गम्भीर क्षति भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
‘हामीले १० जनालाई पहिचान गरेका छौँ र दुई वटा शवका भाग फेला पारेका छौँ, जसको हामीले अझै पहिचान गर्न सकेका छैनौँ, डिएनए परीक्षणका लागि सम्बन्धित निकायमा पठाइएको छ,’ नाराथिवाटका प्रान्तीय गभर्नर सानन पोंगाक्सर्नले पत्रकार सम्मेलनमा भनेका छन् ।
नरथिवाटका प्रहरी कमाण्डर, प्रहरी मेजर जनरल चालर्मपोर्न खाम्खिउले विष्फोट हुनुभन्दा केही समयअघि बारुद गोदामबाट पटाका क्रेतासमक्ष आपूर्ति गरिएको बताएका छन् । गोदामको एक हजार किलो बारुद विष्फोट भएको उनले बताए ।













