
काठमाडौं— गत साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्य क्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो ।
उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल केही प्रहरी जवानसहित खोलातर्फ गए । खोलामा अवैध उत्खनन् भइरहेको सूचना भने गलत निस्कियो ।
यद्यपि, गाउँपालिकाले केही दिन पहिला प्रहरीलाई पत्राचार गरी खोला किनारको कडा निगरानीका लागि आग्रह गरेको थियो । सोही दिन गाउँपालिकाले सामाजिक सुरक्षावापतको भत्ता वितरण गर्दै थियो ।
गाउँपालिकाकै दुर्गम ठाउँ वडा नं १० को दर्लिङमा बैंकसँगको सहकार्यमा गाउँमै भत्ता वितरण हुँदै थियो । ठूलो परिमाणमा नगदसहित गाउँ पुगेका बैंक र गाउँपालिकाका कर्मचारीलाई सुरक्षा दिने जिम्मेवारी पनि भिमगिठे प्रहरी चौकीकै थियो ।
खोला किनारबाट फर्किएपछि पौडेलले सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको ठाउँमा प्रहरी जवान खटाए । भत्ता वितरणको काम साँझ पाँच बजेतिर सकियो । चौकीमा आकस्मिक काम भने चलिरहेकै थिए । तर, औपचारिक काम सकिएपछि जिम्मेवारी हल्का भएको थियो ।
नयाँ आर्थिक वर्ष सुरु भएकाले गाउँपालिकाले कुनै पनि नदी तथा खोला किनार र बगरको ढुङ्गागिट्टी बालुवा ठेक्कामा लगाएको छैन । त्यसै पनि हरेक वर्ष जेठको १५ देखि असोजको १ गतेसम्म खोला तथा नदी किनारको उत्खनन् गर्न नपाइने व्यवस्था छ ।
त्यही कानुनी व्यवस्था कार्यान्वयन गर्दै प्रकृति जोगाउन खोला चाहरेको वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेलको टोली नागरिकलाई सामाजिक सुरक्षा वितरणमा खटिएको थियो ।
दिनभरि प्रकृति र नागरिकको सुरक्षामा खटिएका पौडेलले रात परेपछि आफ्नै प्राण भने जोगाउन सकेनन् । साउन ८ गते बागलुङको बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलको तल्लो तलामा उनको दुःखद निधन भयो ।
‘उहाँ बालबालिका, युवादेखि वृद्धवृद्धा सबैसँग मिलनसार व्यवहार गर्नु हुन्थ्यो,’ भीमगिठेका युवा दिनेश शर्माले भने, ‘उहाँको मृत्युको खबरले त्यो दिन खाल बजार भरिभराउ भएको थियो, सबैको मन अशान्त देखिन्थ्यो ।’
आशा होटलमा उनी पहिलोपटक गएका भने होइनन् । प्रायः औपचारिक काम सकिएपछि उनी खाजा खानका लागि त्यहाँ पुग्ने गरेको स्थानीयवासी बताउँछन् ।
सधैँ भोक मेट्ने होटलमा नै उनको देहलिला मेटियो । ‘काममा निकै इमान्दार हुनुहुन्थ्यो, तर मैले राम्रोसँग भने संगत गरिन,’ बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पौडेललाई भने ।
प्रहरी अधिकृतनै मृत भेटिनु, हत्याको आशंका गरिनुलगायतका कारणले यतिबेला जिल्लाको वडिगाड गाउँपालिकालगायत मध्य पहाडी लोकमार्ग क्षेत्र आशंकाको भूमरीमा छ । होटलमा खाजा खान गएका प्रहरी चौकी इञ्चार्ज पौडेलको हत्याको विषयमा नागरिकमा प्रश्न छन् । पौडेलको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
पक्राउ परेका होटल सञ्चालक आशा कुँवर तथा उनका छोरा विमल कुँवरको बयानको आधारमा हत्या भएको भन्न सकिने प्रमाण भेटिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का बताउँछन् । यद्यपि, हत्याको कारण भने खुलेको छैन ।
‘शव परीक्षणको रिपोर्ट दुई हप्तामा आउँछ, त्यति बेलासम्म अनुसन्धानका अन्य पाटाबाट पनि धेरै खुल्ने छ,’ प्रहरी निरीक्षक राजाराम खड्काले भने, ‘हत्या किन गरियो भन्ने विषय खोजीको विषय हो ।’
पर्वतको कुश्मा नगरपालिका–९ स्थायी घर भएका पौडेलको श्रीमती र बच्चा काठमाडौंमा बस्दै आएका छन् । पौडेलको मृत्युपछि परिवार शोकमा डुबेको छ ।