
काठमाडौं— बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण चार हजार ६१८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार आठ महिनामा १३ जिल्लाका एक लाख ५३ हजार नौ सय पाँच पशु सङ्क्रमित भएका छन् । निर्देशनालयका अधिकृत डा. सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा एक लाख ५३ हजार पशुचौपाया सङ्क्रमित भएका जानकारी दिइन् ।
उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ६८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन् । सिन्धुलीमा ६५०, धादिङमा ५१३, मकवानपुरमा ४४६, नुवाकोटमा ४११, सिन्धुपाल्चोकमा ३६०, काठमाडौँमा ३५७, भक्तपुरमा २९३, चितवनमा २४२, रामेछापमा २२९, दोलखामा १७४ र रसुवामा १७३ पशुचौपायाको मृत्यु भएको हो ।
सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा तीस हजार ७१४ पशुमा सङ्क्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार ४८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार ३९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार १४८, चितवनमा १० हजार ४४, दोलाखामा सात हजार ४५६, भक्तपुरमा छ हजार ४१३, काठमाडौँमा पाँच हजार ३७, रसुवामा एक हजार ८०७ र ललितपुरमा एक हजार ४३१ पशुचौपाया लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।
सङ्क्रमित हुनेमा गाई एक लाख ४२ हजार ७२८, गोरु सात हजार ४९५, भैँसी एक हजार ८६९ र बाच्छाबाच्छी एक हजार ८१३ रहेका निर्देशनालयका अधिकृत डा. मिश्रले जानकारी दिइन् । उनका अनुसार गाई सबैभन्दा बढी सङ्क्रमित भएका हुन् ।













