
काठमाडौं— पोखरा महानगरले आर्थिक वर्ष २०८०-८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार १५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ ।
महानगरभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
गत आर्थिक वर्षमा पोखरामा युरिया, डीएपी र पोटास गरेर एक हजार ९७७ दशमलव ६५ टन मल खपत भएको थियो । त्यसमध्ये युरिया एक हजार २२१ दशमलव ७५ टन खपत भएको थियो ।
त्यस्तै डीएपी ६६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको थियो । मलको डिपोदेखि बिक्री केन्द्रसम्मको दूरीका आधारमा २५ कीमीसम्म युरिया प्रतिकिलो १९ दशमलव ४५ देखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ ।
डीएपीको ४८ दशमलव ४५ देखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको कडरियाले जानकारी दिए । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप दुई रुपैयाँसम्म लिनसक्ने व्यवस्था गरिएको छ ।













