
काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेसँगै पार्टीले काराबाही गर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा पार्टीले कारबाही गरिहाल्नु पर्छ भन्ने नरहेको स्पष्ट पारे ।
नेता सिंहले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमासमेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताएका हुन् । पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उनको भनाइ थियो ।
उनले भने, ‘पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।’
कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उनले स्पष्ट पारे । उनले थपे, ‘निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस रहेको छ, आफ्ना पार्टीका नेतालाई पर्दा कानून लाग्नु हुँदैन भन्ने पक्षमा कांग्रेस छैन ।’













