News Griha :: न्यूजगृह
चौँरीमा लम्पी स्किन देखिएपछि फुर्वाले भने : हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने ?

रामेछाप— शैलुङको चौँरी गोठका फुर्वा तामाङको मन अहिले बेचैन छ । दूध उत्पादन हुने मुख्य सिजनमा चौँरी यसरी बिरामी पर्लान र मर्लान भन्ने उन सोचेका थिएनन् । फुर्वालाई अहिले महाविपत्ति आइपरेको छ ।

गोठका अधिकांश चौँरी बिरामी छन् । बिरामी परेकोमध्ये पाँच वटा मरिसके । बाँकी कति मर्ने हुन्, कति बाँच्ने ठेगान छैन । देशभर फैलिएको लम्पी स्किन रोगले फुर्वाको चौँरी गोठमा कहालिलाग्दो अवस्था आएको छ ।

रोगका कारण फुर्वा लगायत अधिकांश किसानका चौँरी बिरामी परेका छन् । हालसम्म ३० वटा बढी चौँरी मरिसकेका राष्ट्रिय याक तथा चौँरी किसान महासंघ नेपालका महासचिव दावासंबु शेर्पाले बताए ।

शैलुङमा अहिले चौँरीका १५ वटा गोठ छन् । तीमध्ये १४ वटा रामेछापमा छन् भने एउटा दोलखामा पर्छ । रामेछापको डडुवा र गौश्वाराको जंगलमा चौँरी गोठ छन् । दोलखाको शैलुङ्गेश्वरी गाउँपालिकामा एउटा चौँरी गोठ छ ।
 
अहिले १५ वटा गोठमा करिब पाँच सय चौँरी रहेको अनुमान छ । तीमध्ये आधा बढी चौँरी बिरामी परेका शेर्पाले जानकारी दिए । मुख्य दूध उत्पादनको सिजनमा रोग लागेपछि दूधको उत्पादन घटेको छ । रोग लागेपछि दूध दिने पशुमा दूध उत्पादन घट्छ । 

चौँरी बिरामी पर्दा किसानले उचित रूपमा प्राविधिक र औषधि नपाएको शेर्पाले गुनासो गरे । ‘चौँरी बेँसी झर्न सक्दैन, प्राविधिक लेकको जंगलमा आउँदैनन्, हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने ?’, उनको गुनासो छ ।

अहिले बिरामी चौँरीलाई ग्लुकोज पानी, सक्खर पानी लगायतको घरेलु औषधि खुवाएर राखिएको शेर्पाले बताउँछन् । रोग नियन्त्रणमा नआउँदा कृषकहरू थप क्षतिको भयले चिन्तित भएका उनले बताए ।

चौँरीलाई शैलुङको गहना नै मानिन्छ । शैलुङ घुम्न आउने मानिसहरूको प्रमुख लक्ष्य चौँरी हेर्ने हुन्छ । शैलुङमा उत्पादित चौँरीको घ्यू र छुर्पी काठमाडौं तथा विदेशी बजारमा पुग्दछ । यहाँको घ्यू र छुर्पी व्यापारीले अग्रिम रूपमा बुकिङ गरेर लैजान्छन् ।
 
पछिल्लो समय शैलुङसम्म यातायात साधन चल्ने भएपछि किसानलाई गोठसम्म दाना तथा खाद्य सामग्री लैजान सजिलो भएको छ । जसले गर्दा चौँरी पालक कृषकको सङ्ख्या वृद्धि भएको छ । 

तर, अकस्मात रोग लागेर चौँरी मरेपछि किसानहरू हतोत्साहित भएका छन् । ‘एउटा चौँरी मर्दा एक लाख रुपैयाँ क्षति हुन्छ, यो रोगले किसानलाई धेरै क्षति पुर्यायो’, शेर्पाले भने ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:५२
Weather Update