News Griha :: न्यूजगृह
 प्रतिबन्धित ‘रेड बुल’ नेपाली बजारमा फेरि आउँदै, चलखेलको आशंका 

काठमाडौं—‘क्याफिन’को अत्यधिक प्रयोग भएको भन्दै आयात तथा बिक्रीवितरणमा रोक लगाइएको इनर्जी ड्रिंक ‘रेड बुल’ पुनः नेपाली बजारमा आउने भएको छ । 

नेपालका लागि आधिकारिक ‘इम्पोर्टर’ गोर्खा ब्रुअरीले नेपाली बजारमा रेड बुल आउन लागेको पुष्टि गरेको छ । यद्यपि स्थानीयस्तरमै उत्पादन भएर ‘रेड बुल’ ब्रान्डको ‘इनर्जी ड्रिंक’ नेपाली बजारमा आउन लागेको हो । 

थाइल्याण्डमा उत्पादित ‘रेड बुल’ नेपाली बजारमा प्रतिबन्ध लगाए पनि अवैध तवरले भित्राइ बिक्रीवितरण हुँदै आएको थियो । भारतीय बाटो हुँदै भन्सार छलेर ‘रेड बुल’ लगायत प्रतिबन्धित पेय पदार्थ नेपाली बजारसम्म आइरहे कै छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ असार २०७६ बाट नेपाली बजारमा ‘रेड बुल’ लगायत अन्य विदेशी ब्रान्डका ‘इनर्जी ड्रिंक’ को आयात र बिक्रीवितरणमा रोक लगाएको छ । ३ असार २०७६ मा राजपत्रमा प्रकाशित सूचनामा ‘क्याफिन मिसिएको इनर्जी ड्रिंक, फ्लेभर्ड सिन्थेटिक ड्रिंक र त्यस्तै प्रकृतिका अन्य पेय पदार्थहरूलाई रोक लगाइएको’ उल्लेख छ ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने क्याफिनको अत्यधिक प्रयोगलाई मूख्य कारण देखाउँदै सरकारले यस्ता खाले ‘इनर्जी ड्रिंक’लाई आयात र बिक्रीवितरणमा रोक लगाइएको दाबी सरकारले गरेको थियो । तर नेपाली बजारमा उत्पादनका लागि ‘फ्रेन्चाइज’ अधिकार पाएको गोर्खा ब्रुअरीले उस्तै ‘क्याफिन लेभल’ राखेर नेपाली बजारमा ‘रेड बुल’ उत्पादन गर्ने तयारी गरिरहेको छ । 

‘सारस वेभरेज’को नाममा कम्पनी पुनः शुरुवात हुन लागेको हो । ‘गोर्खा ब्रुअरी’का लागि इनर्जी ड्रिंक ‘रेड बुल’को‘इनिशियल’ जिम्मेवारी पाएका कम्पनी प्रतिनिधि निर्भिक प्रधानले ६ महिनामा नेपाली बजारमा ‘रेड बुल’ आइसक्ने बताए । ‘हामी अहिले एकदम सुरुवाती चरणमा छौँ । हामीले फ्रेन्चाइज अधिकार लिएर विश्व चर्चित ब्रान्डलाई नेपाल मै उत्पादन गरेर बजारमा ल्याउन लागेको चाहिँ पक्का हो’, प्रधानले भने, ‘अहिले कम्पनीका लागि आवश्यक जनशक्ति भर्ना गर्ने काम मात्र शुरु भएको छ ।’ यसअघि ‘गोर्खा ब्रुअरी’ मातहतको ‘जिबीमार्केटिङ’ले नेपालमा ‘रेड बुल’ आयात गरि बिक्रीवितरण गर्दै आएको थियो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘रेड बुल’ लगायत त्यस्तै प्रकृतिका विदेशी इनर्जी ड्रिंकमा प्रतिबन्ध यथावत नै रहेको जनाएको छ । ‘रेड बुल र त्यस्तै प्रकृतिको विदेशी पेय पदार्थको आयात अझै पनि अवैधानिक नै हो । यस विषयमा मन्त्रालयले अर्को निर्णय लिएको छैन’, मन्त्रालयका अधिकृत प्रतिक्षा अधिकारीले भनिन्, ‘नेपालमै उत्पादन हुने यस्तै प्रकृतिका पेय पदार्थको सन्दर्भमा भने प्रतिबन्ध लगाइएको छैन ।’ मन्त्रालयले प्रतिबन्धित ‘रेड बुल’ नेपालमै उत्पादन हुन लागेको कुरामा भने अनभिज्ञता प्रकट गरेको छ । ‘उत्पादन शुरु हुन लागेपनि उहाँहरूले आवश्यक प्रकृया पुरा गर्नुभएकै होला । त्यो विषयमा हामीले पनि बुझ्नुपर्छ’, घिमिरेले भनिन् । 

जनस्वास्थ्यमा असर गर्ने रसायनको अत्यधिक प्रयोग कै कारण प्रतिबन्ध लागेको ‘इनर्जी ड्रिंक’ उस्तै परिणामको रसायन प्रयोग गरि नेपाल मै उत्पादन हुँदा भने मन्त्रालयले आँखा बन्द गरेको छ । त्यस्तै ‘रेड बुल’को उत्पादक कम्पनीले पनि कानुनमा रहेको छिद्रलाई दुरुपयोग गर्दै चोर बाटोबाट जनस्वास्थ्यमा असर गर्ने पेय पदार्थ उत्पादनको अनुमति लिएको हो । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने खतराप्रति सरकार जवाफदेही बन्न सकेको छैन । 
नेपालमा ‘इनर्जी ड्रिंक’ मा प्रतिबन्ध लागेपछि थाइल्याण्डस्थित ‘रेड बुल’को उत्पादक कम्पनीको पक्षबाट त्यहाँको सरकारले नै नेपाल सरकारविरुद्ध विश्व व्यापार संगठन (डब्ल्यूटिओ)मा उजुरीसमेत गरेको थियो । उजुरीपछि ‘डब्ल्यूटिओ’ले यस विषयमा नेपाल सरकारलाई पत्र काटेर स्पष्टिकरणसमेत सोधेको थियो । त्यस्तै भारतीय ‘रेड बुल’ उत्पादक कम्पनीका सल्लाहकार दीपक मिश्रले पनि नेपाल सरकारको निर्णयको विरोध गरेका थिए । 

चर्को दबाबकाबीच इनर्जी ड्रिंकको प्रतिबन्ध फुकाउन टसमस नभएको सरकारले ‘रेड बुल’ उत्पादनको लागि स्विकृति दिनुले ठूलै चलखेल भएको आशंका गरिएको छ । नेपाली बजारमा विदेशी ‘इनर्जी ड्रिंक’ प्रतिबन्ध लागेपनि सोही प्रकृतिका अन्य ब्रान्डका पेय पदार्थ निर्वाध बिक्रीवितरण हुँदै आएका छन् । विदेशी ब्रान्ड प्रतिबन्ध भएपनि उस्तै नाम र प्रकृतिका नेपाली ब्रान्डका इनर्जी ड्रिंकहरु रेड ब्लु, रेड स्टार, रेड बेल लगायतले नेपाली बजारमा कब्जा जमाएका छन् । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने रसायनहरुको अत्यधिक प्रयोग भएको भन्दै नेपालसँगै नर्वे, उरुग्वे र डेनमार्कमासमेत ‘रेड बुल’ प्रतिबन्धित छ । 

के हुन्छ ‘रेड बुल’मा ? 
विशेषगरि खेलाडीहरुमाझ चर्चित ‘रेड बुल’ १९८७ सालमा युरोपको अष्ट्रियाबाट व्यवसायिक रुपमा बजारमा आएको हो । त्यसो त सन् १९८० मै पूर्वी एशियामा डायट्रिक माटेसिजले ‘रेड बुल’को आविष्कार गरेका थिए । विभिन्न खाले खेल र खेलाडीसँग जोडिएर प्रचार सामग्री बनाउँदै आएको ‘रेड बुल’ विश्व चर्चित ‘इनर्जी ड्रिंक’ हो । चिनी र क्याफिनको अत्यधिक प्रयोग हुने ‘रेड बुल’ उपभोग गर्दा मानिसहरुमा हड्डी सम्बन्धि समस्या सबैभन्दा बढि देखिएको अनुसन्धानले देखाउँछ । 

चिकित्सकहरुले ‘रेड बुल’ लगाएतका इनर्जी ड्रिंकको बढि उपयोग गर्दा मुटुसम्बन्धि समस्या देखिने, हृदयघातको खतरा बढ्ने र अकालमै मृत्यु हुने भएकोले उपभोक्तालाई उपभोग नगर्न सुझाउँछन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १९:५२
Weather Update