News Griha :: न्यूजगृह
पानी जहाज कम्पनीमा कामदार पठाउन ईपीएस भाषा परीक्षा आवेदन माग

काठमाडौं— वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । 

पानी जहाज कम्पनीमा काम गर्ने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गर्न लागिएको ईपीएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले बताए ।

उनका अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान आज सूचना प्रकाशित गरिएको छ ।

कोरियन भाषा परीक्षा गर्न आगामी साउन २० देखि २४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, नेपाली नागरिक हुनु पर्ने शाखाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:१६
Weather Update