
चितवन— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताएका हुन् ।
विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । उनले भने, ‘अहिले आयात गर्ने अवस्थामा कसरी पुगियो । त्रुटि कहाँ छ भन्ने अब शिक्षित वैज्ञानिकले खोज्नु पर्नेछ ।’
सातवटै प्रदेशमा यस विश्वविद्यालयले आंगिक क्याम्पस बिस्तार गरेको बताउँदै उनले आगामी दिनमा अझै सुधार हुने विश्वास व्यक्त गरे । दीक्षित भएका विद्यार्थीको अबको बाटो भनेको दशको समग्र कृषि क्षेत्रको विकासमा योगदान दिने रहेको उनको भनाइ थियो ।
समारोहमा भारतका डा.वाइएस पारमर विश्वविद्यालयका उपकुलपति प्रा.डा.राजेश्वरसिंह चण्डाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मी लगायतले बोलेका थिए ।
विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५/७६ देखि हालसम्मका विद्यार्थीलाई दीक्षित गरिएको हो ।
स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थी दीक्षित गरिएको सो अवसरमा जानकारी दिइएको थियो । स्नातक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशु चिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ गरी सात सय ३२ जना दीक्षित भएका हुन् ।
स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ जना र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ जना र पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ जना विद्यार्थी दीक्षित भएको उपकुलपति रेग्मीले जानकारी दिए ।
दीक्षान्त समारोहमा तीनवटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने विद्यालयलाई उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वोत्कृष्ट अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एक एक जनालाई कुलपति पदक प्रदान गरिएको छ ।
वि.सं. २०६९ देखि सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ जना विद्यार्थी अध्ययनरत छन् ।
विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधि कार्यक्रममा १४ जना विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ जना विद्यार्थी अध्ययनरत छन् ।













