
भारत— लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयासको पुष्टि गर्दै शनिबार सार्वजनिक गरिएको नयाँ सरकारी तथ्याङ्कअनुसार भारतमा बाघको संख्या तीन हजार ६०० नाघेको अनुमान गरिएको छ ।
कुनै बेला मध्य, पूर्वी र दक्षिणी एसियामा बाघको अत्यधिक चहलपहल हुने गर्दथ्यो तर पछिल्लो शताब्दीमा बाघले आफ्नो ऐतिहासिक दायराको करिब ९५ प्रतिशत हिस्सा गुमाइसकेको छ ।
भारतमा हाल विश्वका ७५ प्रतिशत बाघ रहेका छन् र क्यामेरामा आधारित सर्वेक्षणपछि अप्रिलमा बाघको संख्या बढेर तीन हजार १६७ पुगेको भारतले घोषणा गरेको छ ।
वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डियाले गरेको सोही सर्वेक्षणको तथ्याङ्कलाई थप विश्लेषण गर्दा देशभर बाघको औसत संख्या तीन हजार ६८२ रहेको अनुमान गरिएको सरकारले जनाएको छ ।
यो आँकडाले वार्षिक ६.१ प्रतिशतको प्रशंसनीय वार्षिक वृद्धिदर लाई प्रतिबिम्बित गरेको छ । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको संख्या करिब ४० हजार रहेको अनुमान गरिएको थियो ।
त्यसपछिका दशकहरूमा यो संख्या घटेर सन् २००२ मा तीन हजार ७०० मा झरेको थियो र त्यसको चार वर्षपछि यो संख्या एक हजार ४११ मा झरेको थियो ।
वन फँडानी, चोरी सिकारी र बासस्थानमाथिको मानवीय अतिक्रमणले एसियाभरि बाघको संख्यालाई तहसनहस पारेको छ ।













