कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं— तनहुँको व्यास नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाका शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख नवीन पराजुलीले विद्यालय शिक्षामा समानता ल्याउनका लागि पालिकाले सो निर्णय गरेको बताए ।
‘कक्षा ११ र १२ विद्यालय तहको शिक्षा हो । कक्षा १० सम्म दिउँसो र ११ र १२ का लागि दिउँसो कक्षा सञ्चालन गरिँदै आएको छ । १ देखि १२ सम्म समानता ल्याउनका लागि दिवा कक्षा सञ्चालन गर्न निर्देशन दिएका हौं,’ उनले भने ।
उनले दिउँसो कक्षा सञ्चालन गर्नका लागि शैक्षिक संस्थाहरूसँग छलफल गर्दै आएको बताए । उनले सिकाइ अवधि पूरा गर्नको लागि समेत दिवा कक्षा आवश्यक रहेको बताए ।
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० १७:५१













