News Griha :: न्यूजगृह
आदर्श, सिद्धान्तको कुरा गर्ने तर जीवनमा लागू नगर्नेहरू नक्कली हुन् : रक्षामन्त्री खड्का

काठमाडौं— उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले पूर्वाग्रहमुक्त टिप्पणीले पार्टीको हित हुने बताएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले बैठक, छलफल, सम्मेलनको मर्यादालाई एउटा सीमामा राख्न नसके पार्टीले चाहेको परिणाम निकाल्न नसक्ने भन्दै पूर्वाग्रहविहीन खुला बहसले पार्टीलाई थप बलियो बनाउने बताए । 

खड्काले भने, ‘हामीले बैठक, छलफल, सम्मेलनको मर्यादालाई एउटा सिमामा राख्न सकेनौ भने चाहेको परिणाम दिन सक्दैन । सबै अधिवेशनपछिको गतिविधिहरूलाई यो सम्मेलन मार्फत निर्मम तरिकाले समीक्षा गर्ने, खुला ह्दयले सबै कुराहरू राख्ने, कपट विनाको विरोध, सुझाव र कमजोरीको टिप्पणीले कुनै पनि सम्बन्धित व्यक्तिलाई क्षति पुग्दैन, त्यसले सुधार गर्नको लागि मद्दत गर्छ ।’ 

उनले कुनै मन्त्री, नेता र पार्टीभित्रका व्यक्तिहरूलाई आदर्श र सिद्धान्तको कुरा गर्दै गर्दा आफू उक्त बाटोमा नहिँड्ने हो भने पार्टीमा मनमुटाब बढ्ने बताए । खड्काले भने, ‘आदर्श, सिद्धान्तको कुरा भन्ने तर मैले आफैले भनेको कुरा आफैले लागू नगर्ने हो भने म जतिको नक्कली मान्छे को हुन्छ । त्यसैले मैल यहाँ बसेर जे भन्छु त्यो साथीहरूलाई केही भन्छु भने आफू पनि त्यो अनुसार हिन्न तयार भएपछि मात्रै केही कुरा सुनाउन नैतिकता रहन्छ । त्यो भयो भने मनमुटावको कुरा नै आउँदैन ।’

मुलुकको राजनीतिको मियो नेपाली काङ्ग्रेस हो भन्ने यथार्थलाई व्यवहारमा उतार्नको लागि सबैले आफूलाई सुधार र रूपान्तरण गर्न जरुरी भएको उनले बताए ।  

एकताको भावले हामी बाहिर जान सक्यौ भने भित्रको छलफल, कमजोरीको टिप्पणीले सबै तहको नेतृत्व सुधार्न सक्ने खड्काले बताए । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १६:४९
Weather Update