News Griha :: न्यूजगृह
चिडियाखानामा सटल बस र टाइगर गेट बनाउने चिरिबाबुको प्रतिवद्धता

काठमाडौं—  ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानाभित्र ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि बसको व्यवस्था गर्ने भएको छ । मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज बनाउने उद्देश्यले छिट्टै १४/१५ सिटको बसको व्यवस्था गर्ने घोषणा गरेका हुन् । 

विश्व बाघ दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले १४/१५ सिटको बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले आफूले हेर्न मन लागेको जनावर भएको ठाउँमा रोकिएर हेर्ने र फेरि बस चढेर अर्को जनावर भएको ठाउँमा पुग्न सक्ने बताए ।

‘‘ज्येष्ठ नागरिक चिडियाघरमा आउँदा अथवा अपांगता भएका व्यक्तिहरू चिडियाघरमा आउँदा उहाँहरूले दृश्यावलोकन गर्न राम्रोसँग हेर्न सकुन् भन्नका लागि एउटा सटल बसको चाहिँ म व्यवस्थापन गर्न गइरहेको छु’, महर्जनले भने । 

उनले चिडियाखाना अगाडि चालु आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काइएको थियो । 

‘पहिला जावलाखेल छिर्दाखेरी त्यहाँ भक्तराज राजकर्णिकारको हलुवाई पसलहरू छ । त्यहाँ भन्दा अगाडि दुई वटा गेट थियो । त्यसलाई हामी टाइगर गेट भन्थ्यौँ’, मेयर महर्जनले भने, ‘एकदमै चिटिक्क परेको गेट, त्यसमा माथि दुई वटा टाइगर बसेको । त्यो भत्कियो वा भत्काइयो । त्यसपछि त्यसलाई बनाइएन । यो वर्ष हामी त्यो टाइगर गेट बनाउँछौं । जसले यो चिडियाघरको रिफ्लेक्सन गर्छ ।’

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १४:२६
Weather Update