News Griha :: न्यूजगृह
स्थानीयले बनाए काठे पुल
बेँसीसहर चामे सडक अन्तर्गत चामे गाउँपालिका– २ स्यार्कु खोलामा निर्माण गरिएको काठेपुलको भरमा सवारिसाधन आवतजावत गर्न बाध्य ।  हाल जिल्लाभर सातवटा काठेपुल रहेका छन् । तस्बिर : नवीन लामिछाने/रासस

लमजुङ— बेँसीसहर नगरपालिका– १० भाचोक खोलामा स्थानीयले श्रमदान गरी काठेपुल निर्माण गरेका हुन् । अस्थायी मोटरेवल काठे पुल निर्माण गर्न उनीहरूलाई एक महिना लाग्यो  । पाँच सयभन्दा बढी युवाको श्रमदानबाट एक महिनामा उक्त पुल निर्माण सम्पन्न गरिएको स्थानीय दूधप्रसाद घलेले बताए । उनका अनुसार बेँसीसहर खासुरसडकखण्डअन्तर्गत भाचोक खोलामा निर्मित उक्त पुलमा आज बिहानदेखि सवारीसाधन सञ्चालनमा आएका छन् ।

गत असार ३ मा आएको बाढीले यसअघि राखिएको काठेपुल बगाएपछि सवारीसाधन आवतजावत बन्द रहँदै आएको थियो । उक्त पुलबाट बोलेरो जीप, एम्बुलेन्स तथा मिनिबस आवतजावत गर्न सक्ने घलेको भनाइ छ ।  बाढीले पुल बगाएपछि जोखिम मोलेर खोलाबाट हिँड्ने गरिएको भन्दै अहिले काठेपुल निर्माण भएर सञ्चालनमा आएसँगै आवागमन सहज भएको उनले बताए ।

पुल सञ्चालन भएसँगै खासुर,देउजन थोक, साँधु,पाङ्ग्रेक्यु, खाँचे र बेँसी भाचोकका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । सिमेन्ट तथा बालुवा नगरपालिकाले उपलब्ध गराएको भन्दै पुलका लागि चाहिने काठ वन कार्यालयसँग समन्वय गरी गाउँकै सामुदायिक वनले उपलब्ध गराएको वडाध्यक्ष गङ्गा थापाले बताए । उनले भाचोक खेला डुम्रे–बेँसीसहर–चामे सडकको वैकल्पिक मार्गसमेत रहेको बताए । उनका अनुसार बेँसीसहर नगरपालिका वडा नं ६ खरखरे भीरमा पहिरो जाँदा बेँसीसहर, बाँझोखेत, लेतेफाट,भाचोकबेँसी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युतको पावर हाउस हुँदै सुरुङ मार्गमा यो सडक जोडिन्छ । 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १४:०८
Weather Update