News Griha :: न्यूजगृह
बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो

म्याग्दी— बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालिक योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । 

धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका– ४ का वडा सदस्य प्रेम श्रीसले बताए । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको उनले बताए । ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ छ । करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भीरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । उनका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । ‘पानी पर्दा गाडी चल्दैनन्, पैदलयात्रा गर्न पनि ढुङ्गा खसिरहने भएकाले जोखिम छ,’ मङ्गला गाउँपालिका– १ पूर्णगाउँका बेलबहादुर पाण्डेले भने, ‘यही पहिरोका कारण कतिपय बिरामीलाई समयमा अस्पताल पुर्‍याउन सकिएको छैन ।’ 

    उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रेसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेत सहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका– २ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको उनले बताउनुभयो । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा बित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । ‘फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङ सहितको छुट्टै काम गर्नुपर्छ,’ उनले भने, ‘ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।’ 

स्थानीय जीवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने बताउँछन् । ‘फापरखेतदेखि पखेर जोड्ने सडकमा पुल हालै निर्माण सकिएको छ । पखेर र पहिरोभन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन,’ उनले भने । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँछन् । भूगर्भविद र प्राविधिकको टोलीमार्फत पहिरो नियन्त्रण गर्ने अथवा वैकल्पिक सडकको अध्ययन गरेर टोलीले दिने सुझावका आधारमा समस्या समाधानको पहल गर्ने उनले बताए । 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १३:४७
Weather Update