News Griha :: न्यूजगृह
बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

विश्व बाघ दिवस, २०२३ को अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन आह्वान गरेका छन् ।

‘बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवम् सहयोगी संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।

बाघको चोरी शिकारी तथा बाघका अंगको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणका लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाले विश्वव्यापी बाघ संरक्षणको अभियानमा पुगेको पहलकदमी सार्थक भएको राष्ट्रपति पौडेलको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्यु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको उनले बताएका छन् ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ०९:३५
Weather Update