
काठमाडौं— अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल मार्फत् वाग्लेले पार्टीमा अब नरहने घोषणा गरेका हुन् ।
वाग्लेले कांग्रेस गिरोहमा परिणत हुन लागेको आरोप लगाएका छन् । उनले पार्टी नेतृत्व अक्षम बन्दै गएको आरोप लगाएका छन् ।
‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले लेखेका छन्, ‘अब कांग्रेस–कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवम् विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो ।’
वाग्लेले पार्टी परित्यागसँगै सक्रिय राजनीतिमा आउने संकेत पनि गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको चर्चा छ ।













