
काठमाडौं— विश्व बाघ दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रमअन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ ।
यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए ।
कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उनले बताए ।
पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ ।
सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको छ ।
नेपालले वि.सं.२०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या बढेर दुई ३५ पुगेको थियो ।
नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् ।
विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो ।
त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर २०१६ मा तीन हजार नौ सय र सन् २०२२ मा चार हजार पाँच सय पुगेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ ।
सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए ।














