भरतपुर— भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।
चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।
चिकित्सकको लापरबाहीका कारण उप्रेतीको ज्यान गएको आरोप लगाउँदै आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । आफन्तले अस्पताल घेराउ गरेपछि अस्पतालमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
मृतकका जेठाजु नमराज उप्रेतीका अनुसार साउन ९ गते ज्वरो र पिसाबसम्बन्धी समस्याका कारण शर्मिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
चिकित्सकले हाइडोजको इन्जेक्सन चलाएको र बिरामीलाई समस्या बढ्दै जाँदा चिकित्सक नभएको नहुँदा बिरामीको ज्यान गएको उनको आरोप छ । उनले भने,‘अस्पतालको चरम लापरबाहीले सामान्य ज्वरोको बिरामीको ज्यान गएको छ ।’
शर्मिलाको बिहीबार साँझ मृत्यु भएको हो । मृत्युपछि अस्पतालले शव बुझ्न आग्रह गरेपछि आफन्तले बुझ्न अस्वीकार गरेका छन् ।