News Griha :: न्यूजगृह
वामदेवको टिप्पणी : प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्यो
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभा भित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीनता हुन थालेको बताएका छन्  ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा गौतमले नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भएपनि अहिले संसारका कुनैपनि संसद्मा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीनता गतिविधि भइरहेको बताए । उनले सांसदहरू संसद्को नियमावलीलाई बेवास्ता गरी जथाभावी उठेर बोल्ने गरेको बताए । गौतमले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे ।

उनले पुरानो संसद् परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद् बनाएको भन्दै पहिलाको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीनता भएको बताए । उनले पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको बताए  । गौतमले भने, ‘नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो । अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ । त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनैपनि संसद्मा त्यस्तो हुँदैन । परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउने देखि लिएर संसद्को नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ । एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ।’

उनले कुनैपनि पार्टीले सांसदहरूलाई लगाएर संसद्को गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद् अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए । गौतमले सांसदहरुले संसद् आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरूले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताए । उनले उद्देश्य मुलुक ढङ्गले संसद् चल्न नदिने किसिमले संसद् अवरुद्ध गराउने काम भइरहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:४१
Weather Update