News Griha :: न्यूजगृह
काठमाडौंका सामुदायिक विद्यालयको परीक्षा नतिजामा सुधार, बालेन के भन्छन् ?

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विगतका वर्षमाभन्दा यसवर्ष सामुदायिक विद्यालयको एसईई परीक्षा नतिजामा सुधार आएको बताएका छन् । उनले शुक्रबार तथ्यांकसमेत सार्वजनिक गर्दै नतिजन सुधारका कारण बताएका छन् ।

उनले यसवर्ष काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८ प्रतिशतले वृद्धि भएको जनाएका छन् ।

गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६ प्रतिशत) जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३प्रतिशत) छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएको मेयर साहको भनाइ छ ।

उनका अनुसार आवेदकमध्ये गएको वर्ष १२५ (३.१७ प्रतिशत) जना गयल भए भने यसवर्ष ५० (१.२३ प्रतिशत) जना गयल देखिए । यो तथ्यांकबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै गएको उनको भनाइ छ ।

उनले विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेको बताउँदै आफूहरूले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको जनाए ।

उनी भन्छन्, ‘गएको बर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४ प्रतिशत) जना थियो । यसवर्ष ४८६ (१२.४२ प्रतिशत) पुगेको छ । यो ५१प्रतिशत वृद्धि दर हो । गएको वर्ष ६९७ (१७.६८प्रतिशत) जनाले ‘वी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यसवर्ष ८०४ (२०.५५ प्रतिशत) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको वर्ष ‘वी’ ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५० प्रतिशत) थियो । यस वर्ष ९७४ (२४.९० प्रतिशत) पुगेको छ । गएको वर्ष १००४ (२५.४६ प्रतिशत) को ‘सी प्लस’ ग्रेड आएको थियो । यसवर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४ प्रतिशत)  पुगेको छ । यसको घट्दो प्रतिशत (–८ प्रतिशत) हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या (–२९ प्रतिशत) ले घटेको छ । गएको वर्षयस ग्रेडमा ६२० जना (१५.७२ प्रतिशत) उत्तीर्ण थिए । यसवर्ष ४३५ (११.१२ प्रतिशत) मा घटेको छ ।’

मेयर साहले महानगरभित्रका सामुदायिक विद्यालयमा यस  वर्ष (२०७९÷८०) देखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्यांले देखाएको बताए ।

नतिजा सुधारका लागि गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गरेको मेयर साहले बताए । उनी भन्छन्,‘गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्‍यौँ । उहाँहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।’

ktm balen1690512507.jpg

‘९० जना शिक्षकलाई १० घण्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्‍यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो । प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् । विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थाले । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो,’ उनी थप भन्छन्, ‘प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०८:३६
Weather Update