
काठमाडौं— नेपाली कांग्रेसले चितवन २ र तनहुँ १ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार चयन गरेको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा पार्टी केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बारा २ को हकमा भने १९ चैतमा बस्ने केन्द्रिय कार्यसमितिको बैठकले निर्णय गरेको बताए ।
उनले भने, ‘यो बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने निर्णय गरेको छ । बारा क्षेत्र नम्बर २ को हकमा भने १९ गते फेरि केन्द्रिय कार्यसमितिको बैठक बसेर छलफल गरी टुंग्याउने निर्णय भएको छ ।’
यस्तै बैठकमा मिटरब्याजीको समस्यालाई तत्काल समधान गर्नेकुरामा पनि छलफल भएकोसमते प्रवक्ता डा महतले बताए । उनले भने, ‘मिटरब्याजीको समस्या जुन छ, त्यसबाट आहात नागरिकहरुको समस्या छ, त्यस समस्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । यसलाई कानूनी व्यवस्था सँगसँगै तत्काल समस्या समाधानको लागि सरकारले तत्पराता देखाउनुपर्ने र समाधान गर्नुपर्ने विषयमा पार्टीले निर्णय गरेको छ । मन्त्रीपरिषद्मा भाग लिन विषयमा पनि चर्चा भएको छ । योगदान, दक्षता, समावेशीता प्रादेशिक सन्तुलनका विषयलाई मध्यनजर गरेर मन्त्रीपरिषद्मा सदस्य पठाउने चर्चा छ ।’
प्रवक्ता डा. महतले सरकारमा पठाउने मन्त्रीको नाम भने योगदान, दक्षता, समावेशीता, प्रादेशिक सन्तुलन लगायतका आधारमा चयन गर्ने निर्णय भएको बताए ।













