
काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् ।
डेंगु रोग फैलाउने लामखुट्टे सफा पानीमा बस्ने बताउँदै साहले पानी जम्ने सडक,सडकपेटीका खाल्डाखुल्डी,करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय नराख्न आग्रह गरेका हुन् ।
रोग नियन्त्रणका लागि एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएकाले रोग लाग्नै नदिनेतर्फ प्रयत्न गर्न, महामारी रोगप्रति सचेत रहन, कामपाले सञ्चालन गरेका कार्यक्रममा सहयोग गर्न पनि साहले अपिल गरेका छन् ।
वर्षायाममा साउन, भदौ, असोज र कात्तिक महिनासम्म यस रोगको संक्रमणदर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा कामपाले डेंगु रोगको बारेमा आवश्यक परामर्श दिनका लागि कामपाले टेलिफोनमार्फत रोगका लक्षण, उपचार, सावधानी दिनका लागि हटलाइन ११८० २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ ।
अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पनि कामपाले आग्रह गरेको छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र कडा ज्वरो आउने, वाकवाकी लाग्ने, कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्नेजस्ता लक्षण देखिन्छन् ।