
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।
भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताएका हुन् ।
शर्माले सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्नेसमेत बताए । उनले राज्यले, निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिनसक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रहसमेत गरे ।
उनले भने, ‘नेपाली उत्पादनको प्रयोग गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डलाई पनि भन्छु की सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रबाट भएको उत्पादन, आन्तरिक उत्पादन पनि उभिनसक्ने बनाउनु पर्छ । देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरुले बनाउने होइन, तर समन्वय गर्ने काम प्रधानमन्त्रीले हो, त्यसैले देश बनाउन सबै मानिसको संलग्नता हुनुपर्छ ।’













