News Griha :: न्यूजगृह
खुल्ला प्रतिस्पर्धाबाट प्रअ छनोट गरिँदै, साउन अन्तिमसम्म आवेदन दिन सकिने, योग्यता कति ?

कैलाली— घोडाघोडी नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनौट गर्ने भएको छ ।  नगरपालिकाले एक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्न लागेको हो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि प्रधानाध्यापक छनौट गर्न लागिएको जानकारी दिए ।

उनले हाल सामुदायिक विद्यालयमा प्रधानाध्यापक रहेको र कामकाजको लागि केही शिक्षकलाई सो जिम्मेवारी दिएको बताए । उनले प्रतिस्पर्धाको लागि नगरपालिकाले प्रधानाध्यापकको लागि आवेदन माग गरेको जानकारी दिए ।

प्रधानाध्यापक नियुक्ति गर्न नगर शिक्षा ऐन २०७७, नगर शिक्षा नियमावली २०८० ल्याएको उनले बताए । योग्यता पुगेका शिक्षकहरूले साउन ३१ गतेभित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।

आधारभूत तह कक्षा (१–५) को हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ पास वा सो सरह उत्तीर्ण,आधारभूत तह कक्षा (१–८) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उनले बताए ।

त्यस्तै माध्यमिक तह कक्षा (१–१०/१२) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको शिक्षकले आवेदन दिन सक्नेछन् ।

सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको, नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको शिक्षकले आवेदन दिन सक्नेछन् ।

सूचना

ghodaghodi1690464295.jpg

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १९:१३
Weather Update