News Griha :: न्यूजगृह
अध्यापन अनुमतिपत्रबिना कार्यरत शिक्षकलाई हटाइँदै

धनगढी— कैलालीको धनगढी उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई  हटाउन लागिएको छ ।

अध्यापन अनुमतिपत्र नभएका व्यक्तिलाई शिक्षक नियुक्ति कार्य शिक्षा ऐन २०२८, (संशोधनसहितको) दफा ११ ड को उपदफा १ मा भएको कानुनी व्यवस्थाविपरीत भएको भन्दै धनगढी उपमहानगरले अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई हटाउन लागेको हो ।

शिक्षकलाई आवश्यक प्रक्रिया पूरा गरेर सेवाबाट अवकाश गराई यथाशीघ्र शिक्षा विकास तथा समन्वय इकाईमा जानकारी गराउनू भन्दै उपमहानगरले विद्यालयलाई पत्र पठाएको छ ।

अध्यापन अनुमतिपत्र नभएका शिक्षक १३ वटा सामुदायिक विद्यालयमा कार्यरत रहेको उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिए ।

शिक्षा सम्बद्ध ऐन, कानुन विपरीत अध्यापन अनुमतिपत्रबिनै सामुदायिक विद्यालयमा पढाउँदै आएका शिक्षकलाई नियमानुसार कारबाही गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी उपमहानगरलाई पत्र पठाएको थियो । उक्त पत्रानुसार धनगढी उपमहानगरको कार्यालयले अध्यापन अनुमतिपत्र नभएकाहरूलाई हटाउन लागेको हो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:३८
Weather Update