News Griha :: न्यूजगृह
सिक्दै,कमाउँदै छन् म्याग्दीका विद्यार्थी

म्याग्दी— म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालयअन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।

शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी खेती व्यावसायिक नै बनेको छ । विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन् । करिब तीन रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ ।

विद्यार्थीको करेसाबारीको उत्पादन रहरलाग्दो छ । विद्यार्थीले उत्पादन गरेको कृषि उपज उनीहरु स्वयमले प्रयोग गर्छन् भने गाउँमासमेत बिक्री गर्दै आएको शिक्षालयका प्रमुख करन कँडेलले जानकारी दिए । कँडेलले बाली विज्ञान तर्फका विद्यार्थीले एक हजार किलो बढी आलु उत्पादन गरेर बिक्री गरिसकेको बताए ।

विद्यार्थीले चार रोपनी जग्गामा धान खेतीसमेत गरेका छन् । ‘सिक्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ,उनीहरु विद्यालय समय भन्दा बाहिरको समयलाई उत्पादनमूलक क्षेत्रमा लगाएका छन्,व्यवहारिक शिक्षासँगै आम्दानीसमेत गर्न सफल भएका छन,’ शिक्षालयका प्रमुख कँडेलले भने ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:२६
Weather Update