News Griha :: न्यूजगृह
दार्चुलाको शैल्यशिखरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारविरूद्ध मुद्दा दायर भएको छ । 

आयोगले शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सबइन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत विष्टले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याई कटिङ गर्दा अस्वभाविकरुपमा बढी मूल्याङ्कन नापी किताबमा चढाइ हस्ताक्षर गरेको अख्तियारको आरोप छ। उनीविरूद्ध अख्तियारले २६ लाख, २ हजार ५५६ रुपैयाँ बिगो माग दाबी गरेको छ । 

यस्तै नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा अस्वभाविक रुपमा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षर सहित सहमति जनाई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई बढी लिएको अख्तियारको आरोप छ । उनीविरूद्ध अख्तियारले ११ लाख ३० हजार २७२ रुपैयाँ बिगो दाबी गरेको छ । 

यस्तै नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंहले पनि पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा अस्वभाविक रुपमा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाई हस्ताक्षरसहित सहमति गरेको भन्दै उनीविरूद्ध १४ लाख ७१ हजार २८३ रुपैयाँ बिगो माग दाबी गरेको छ । यसैगरी नगरपालिकाका सबइन्जिनियर दीपक सिंह विष्टविरूद्ध पनि २६ लाख २ हजार ५५६ रुपैयाँ अख्तियारले बिगो माग दाबी गरेको छ ।

त्यस्तै शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध अख्तियारले २६ लाख २ हजार बिगो माग दाबी गरेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:५९
Weather Update