काठमाडौं— सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युतबाट नै सम्भव रहेको बताएका छन् ।
बिहीवार ललितपुरमा आयोजित सामूहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसमा उनले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने लक्ष्यलाई साथ दिन महासङ्घले विद्युत उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए ।
उनले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताए । घिमिरेले भने, ‘नेपालको उन्नति विद्युत हो । जलविद्युतबाट नै गर्न सकिन्छ । त्यसका लागि आम जनताले उपभोग गर्ने कुरा विद्युतमार्फत गर्ने, औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि यस संस्थाले महत्वपूर्ण कदम चाल्नेछ ।’
उनले उर्जा ऐन १४ वर्षदेखि अडकिएको कुरा उठेको भन्दै अडकिएका कानूनहरू अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताए । सभामुख घिमिरेले थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरू पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसद्को भूमिका महत्वपूर्ण रहेको बताए ।