काठमाडौं— कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरू एक हुन आवश्यक रहेको बताएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा उनले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताए । गुरुङले सामन्तवादका अवशेषहरूको अन्त्यका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए । उनले विधेयकको रूप फेरिए पनि सार नफेरिएको प्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताए ।
गुरुङले भने, ‘हामी पीडितको पक्षमा उभिनुपर्छ । सिंगो मुलुक पीडितको पक्षमा उभिएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदन पीडितकै पक्षमा उभिने हो । सामन्तवादका अवशेषहरूको अन्त्यका लागि एक ठाउँमा उभिनुपर्छ । सामन्तवादको अवशेषका पक्षमा कोही पनि उभिँदैनौँ । रूप फेरिएर आएपनि त्यो विधेयकको सार फेरिएको छैन भन्ने मलाई लागिरहेको छ । त्यसैले सार नफेरिकन रूप फेरिएर मात्रै हुँदैन । वास्तवमा पीडकहरूलाई अनुचित लेनदेन गर्ने पीडकलाई कानुनी दायरामा ल्याउने काम गर्न यो विधेयकले । त्यसैले सार नफेरिएको रूप फेरिएको अवस्थामा आइपुग्दा म दुःखी छु। माफी चाहन्छु, आइन्दा यसरी कमी त्रुटि सरकारको पक्षबाट नहुने आग्रह गर्छु ।’