काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने कुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताए । उनले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभइ यति ठूलो परिणाममा सुन तस्करी हुनै नसक्ने दाबी गरे ।
उनले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताए । उनले सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरू पनि रहनुपर्ने माग गरे ।
‘चार्ल्स सोभराजले नेपालको त्रिभुवन विमानस्थलबाट सिंगो हात्ती छिराइदिन्छु भन्थे, नेपालमा यही श्रावण ३ गते १५५ किलो ४६८ ग्राम सुन मात्र एक सय किलो भनिएको छ । यो हात्ती सरहको एक सय केजी सुन हवाइ मार्गबाट भित्रिँदा थाहा नपाउने सरकार, खासगरी गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ,’ उनले भने ।
दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व सामेल भएपनि अनुसन्धानको दायरामा ल्याउन नसकेको बताए ।