काठमाडौं— राष्ट्रिय किसान सञ्जालले देशव्यापी रुपमा फैलिएको लम्पीस्किनलाई महामारी घोषणा गरि पीडितलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको छ ।
सञ्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने, त्यसको नियन्त्रणमा लिनुपर्ने र किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने प्रमुख माग राखेको छ ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै सञ्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन् । लम्पीस्किन रोगबाट पशुमा धेरै क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको जस्ता मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सञ्जालले आन्दोलन घोषणा गरेको हो ।
यस्तै, सञ्जालले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले खुला प्रतिस्पर्धा विना सटर भाडामा लिएकासँग नवीकरण गरेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बेथितिको पनि अन्त्य हुनुपर्ने माग गरेका छन् ।