News Griha :: न्यूजगृह
सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए
फाइल तस्बिर ।

काठमाडौं— टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ ।

नगरभित्रको सार्वजनिक जग्गा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा– ८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए ।

‘संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ,’ नगरप्रमुख अधिकारीले भने ।

नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उनको भनाइ छ ।  

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:५७
Weather Update