भ्रष्टाचारमा कांग्रेसको शून्य सहनशीलता नीति : कांग्रेस प्रवक्ता महत

काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताएका छन् ।
यही साउन २ गते सुरु भई बुधबारसम्म केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबारे जानकारी दिन कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस सधैं सुशासनका पक्षमा रहेको बताए ।
कांग्रेसले सुशासनमा सधैं अगुवाइ गरेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले कुनै पनि दोषीलाई संरक्षण नगर्ने बताए । कुनै पनि व्यक्तिलाई आरोप प्रमाणित नभएसम्म दोषी भन्न नमिल्ने उनको भनाइ थियो ।
कांग्रेसले तीनै तहको निर्वाचनमा बागी बनेर विजयी भएका पार्टीका नेताकार्यकर्ताको कारबाही फुकुवा गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० २२:११