काठमाडौं— शहरी विकासमन्त्री सीता गुरुङले अन्तर मन्त्रालयबीच राम्रो समन्वय हुन नसक्दा विकास निर्माणका काममा कठिनाइ हुने गरेको बताएकी छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले एउटा मन्त्रालयले अघि बढाएको कामलाई अर्को मन्त्रालयले आवश्यक चासो नदेखाउँदा पनि विकास निर्माणमा अवरोध सिर्जना भइरहेको गुनासो गरिन् ।
उनले भनिन्, ‘एउटा मन्त्रालयले कस्तो स्प्रिटमा अघि बढाएको छ, अर्को मन्त्रालयले नबुझ्ने हुनाले अलिकति अप्ठ्यारो भएको छ । यसमा छिटै काम कसरी गर्ने भन्ने नीतिगत छलफल आवश्यक छ । हाम्रो मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कन्जुस्याँइ गरेका छैनौँ । ऐतिहासिक, सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।’
मन्त्री गुरुङले अन्तर मन्त्रालयबीच समन्वय गर्न र विकास निर्माणमा देखिएका समस्या समाधान गर्न नीतिगत छलफल नै जरुरी देखिएको उल्लेख गरिन् । मन्त्री गुरुङले शहरी विकास मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कन्जुस्याँइ नगरी काम अघि बढिरहेको बताइन् ।
उनले प्रतिनिधि सभाको पुरानो भवनलाई संसदीय सङ्ग्रहालयको रुपमा विकास गर्न पुरानै कला, संस्कृति समेटिने गरी पुनः निर्माण हुने बताइन् । मन्त्री गुरुङले भनिन्, ‘हाम्रो मुख्य जिम्मेवारीको हिसाबले प्रतिनिधि सभाको पुरानो भवन जहाँ हामी ग्यालरी बैठकको कुरा गरिरहेका छौँ, त्यसको सय वर्ष पुरानो इतिहासको कुरा, त्यसलाई जस्ताको त्यस्तै राख्ने कुरा यो विषयमा हामी सबै, प्राविधिक, महत्वको हिसाबले पनि जस्ताको त्यस्तै राख्नेमा कोशिश गरिरहेका छौँ । त्यसमा अहिले परामर्शको काम भइरहेको छ ।’